Chapter 06c · Social Studies
47 blocks · bilingual

उष्ण मण्डल

LiveBilingual master notes · switch to नेपाली for the full glossary

Complete bilingual study notes for उष्ण मण्डल — every concept explained step by step, with definitions, formulas, and worked examples.

अध्याय ११: उष्ण मण्डल

अध्याय परिचय

यस अध्यायमा उष्ण मण्डलअन्तर्गत पर्ने चारओटा हावापानीका उपप्रदेशहरू — भूमध्यरेखीय हावापानी, उष्ण तृणभूमिको हावापानी, उष्ण मरुस्थलीय हावापानी र उष्ण मौसमी हावापानी — बारे विस्तृत अध्ययन गरिन्छ। प्रत्येक उपप्रदेशको अवस्थिति, हावापानीको अवस्था, वनस्पति-वन्यजन्तु तथा जनजीवन र आर्थिक क्रियाकलाप समेटिएको छ। यो अध्याय SEE का लागि महत्त्वपूर्ण छ किनभने प्रत्येक उपप्रदेशको अक्षांशीय अवस्थिति, तापक्रम, वर्षा र त्यहाँको वनस्पति-जनजीवनसम्बन्धी विशिष्ट तथ्यहरू बारम्बार सोधिने विषय हुन्।

१. भूमध्यरेखीय हावापानी

(क) अवस्थिति

भूमध्यरेखाबाट ५° उत्तर र ५° दक्षिण अक्षांशसम्म भूमध्यरेखीय हावापानी पाइन्छ। यो क्षेत्रमा दक्षिण अमेरिकाको अमेजन बेसी, अफ्रिकाको कङ्गो बेसी, मलेसिया र एसियाको दक्षिण पूर्वी द्विपसमूहअन्तर्गतका भूभागहरू पर्छन्।

(ख) हावापानीको अवस्था

वर्षभरिको औसत तापक्रम २७°C र तापान्तर जम्मा २°C मात्र हुन्छ। यो क्षेत्रमा वर्षभरि सूर्यको किरण सिधा पर्ने हुनाले धेरै गर्मी हुन्छ। यहाँ दैनिक मध्याह्नपछि सम्वाहनिक वर्षा हुन्छ। दिन र रातको समय बराबर रहनु र ऋतु परिवर्तन नहुनु यो हावापानीको विशेषता हो। यहाँ २०० से.मि.सम्म वार्षिक औसत वर्षा हुने र सापेक्षित आर्द्रता औसतमा ८०% भन्दा बढी हुन्छ।

(ग) वनस्पति र वन्यजन्तु

प्रशस्त वर्षा र गर्मीको कारण वनस्पतिका लागि यो क्षेत्र निकै उपयुक्त छ। यहाँ विभिन्न जातका ठुला, अग्ला र कडाजातका वनस्पति र लहरा प्रशस्त मात्रामा पाइन्छन्। अमेजनको सेल्भास जङ्गल यसै क्षेत्रमा पर्दछ। वनक्षेत्र प्रशस्त रहेकाले विभिन्न प्रजातिका पशुपंक्षीहरू यहाँ पाइन्छन्। यो क्षेत्र जैविक विविधताका लागि संसारभर प्रशिद्ध छ। यहाँ अजिङ्गर, चिम्पान्जी, विषालु सर्प, गोही आदि जनावर र हाँस, बकुल्ला, धनेस, मयुर आदि चराचुरुङ्गी पाइन्छन्।

(घ) जनजीवन र आर्थिक क्रियाकलाप

एसियाली पूर्वी द्विपसमूहका मानिसको विकसित र आधुनिक जीवनशैली छ। खेतीपाती, काठसम्बन्धी उद्योग, व्यापार र पर्यटन यहाँका प्रमुख आर्थिक गतिविधि हुन्। यस क्षेत्रको अमेजन र कङ्गो उपत्यकामा फिरन्ते स्वभावका रेड इन्डियन पिग्मिजहरूको बसोबास रहेको छ।

२. उष्ण तृणभूमिको हावापानी

(क) अवस्थिति

यो हावापानी भूमध्यरेखाबाट उत्तर र दक्षिणतर्फ ५° देखि २०° अक्षांशको क्षेत्रमा पाइन्छ। यस हावापानीको क्षेत्रमा अफ्रिकाको सुडान, दक्षिण अफ्रिकाको उत्तरी भाग र ब्राजिलको उच्चसमस्थली, ओरिन उपत्यका, अस्ट्रेलियाको उत्तरी भाग, डेक्कन र शान उच्चसमस्थलीअन्तर्गतका भूभाग पर्दछन्।

(ख) हावापानीको अवस्था

ग्रीष्ममा धेरै गर्मी र वर्षा तथा हिउँद न्यानो र सुख्खा हुने यो क्षेत्रमा स्थान र अवस्थानुसार वार्षिक ५० देखि १५० से.मि.सम्म वर्षा हुन्छ। ग्रीष्ममा ३२°C भन्दा बढी र हिउँदमा २१°C भन्दा कम तापक्रम हुन्छ। यहाँ ग्रीष्म र हिउँद गरी दुई ऋतु हुन्छन्।

(ग) वनस्पति र वन्यजन्तु

यो हावापानी प्रदेशमा ग्रीष्ममा वर्षा हुनाले घाँसका लागि निकै राम्रो र अनुकूल हुने तर ठुला बिरुवा हुर्कन नसक्नाले फाट्टफुट्ट मात्र रुख पाइन्छन्। यो हावापानीको क्षेत्रलाई सभाना घाँसे भूमि पनि भनिन्छ। भेनेजुयला र कोलम्बियामा 'लानोस', ब्राजिलमा 'क्याम्पोस' तथा मध्य र पूर्वी अफ्रिकी क्षेत्रमा 'सभाना' भनिन्छ। यस क्षेत्रमा जिराफ, जेब्रा, हात्ती अर्ना, हायनालगायतका धेरै प्रकारका जीव जनावरहरू पाइने हुनाले संसारको चिडियाखाना पनि भनिन्छ।

(घ) जनजीवन र आर्थिक क्रियाकलाप

यहाँका कतिपय मानिस अझै पुरानै रीतिरिवाजमा रमाउने र फिरन्ते जीवन जीउने गर्दछन्। मध्य अफ्रिकी क्षेत्रका मसाई र हाउसा जातिका मानिस यसका उदाहरण हुन्। यस क्षेत्रमा जनघनत्व कम र गरिबी, पछौटेपन व्याप्त छ। गहुँ, कपास, मकैखेती, पशुपालन, पर्यटन यहाँका आर्थिक क्रियाकलाप हुन्। यहाँ व्यावसायिक खेती, पशुपालन र पर्यटन उद्योगको प्रभावकारिता बढ्दो छ। राष्ट्रिय निकुञ्जको स्थापना र संरक्षण क्षेत्र बढ्दै गएकाले पर्यटन उद्योग र फिल्म सुटिङको गन्तव्य बनेको छ।

३. उष्ण मरुस्थलीय हावापानी

(क) अवस्थिति

पृथ्वीको दुवै गोलार्धमा २०° देखि ३०° अक्षांशको महाद्वीपको सामान्यतया पश्चिमी भागमा यस प्रकारको हावापानी पाइन्छ। अफ्रिकाको सहारा, कालाहारी र नामिब, एसियाको अरेबियन र थार मरुभूमिका साथै उत्तर अमेरिकाको दक्षिण क्यालिफोर्निया, दक्षिण अमेरिकाको एटकामा र मध्य अस्ट्रेलिया क्षेत्रमा यो हावापानी पाइन्छ। यहाँको अधिकांश भूभाग बालुवा र चट्टानले ढाकेको छ।

(ख) हावापानीको अवस्था

दिनमा अति गर्मी र रातमा अति चिसो हुने अर्थात् दिउँसो ४०°C भन्दा बढी र रातमा तापक्रम घटेर १०°C भन्दा कम हुन्छ। सुक्खा हुनु, तापान्तर बढी हुनु, वार्षिक औसत १२ से.मि. वर्षा हुनु यो हावापानीका विशेषता हुन्।

(ग) वनस्पति र वन्यजन्तु

यहाँ काँडेदार, लामा जरा भएका र खस्रा पातयुक्त सिउँडी (Cactus) जातका वनस्पति मात्र पाइन्छन्। कम वर्षा र विषमताले गर्दा ठुला जातका वनस्पति खासै पाइँदैन। उँटलाई प्रमुख यातायातको साधनका रूपमा प्रयोग गरिन्छ। मरुद्यानको आसपासमा पाम जातका वनस्पति पाइन्छन्।

(घ) जनजीवन र आर्थिक क्रियाकलाप

विषम हावापानीका कारण यस क्षेत्रमा जीवन सहज छैन। पानी नपर्ने हुनाले घरहरू प्रायः मुण्डा हुन्छन्। यहाँको जनघनत्व अति कम छ। यहाँ केही फिरन्ते जातिका मानिस बस्छन्। पेट्रोलियम पदार्थ र सुनलगायतका वस्तुको उत्पादनले आर्थिक गतिविधि बढ्दो छ। यहाँका मानिसले भारी बोकाउन, दुध र मासुका लागि उँट पाल्छन्। मरुस्थलको कतिपय ठाउँमा पानी पाइन्छ। त्यहाँ खेतीपाती गरिन्छ र बस्ती पनि बाक्लो भेटिन्छ। यस क्षेत्रलाई मरुद्यान भनिन्छ।

४. उष्ण मौसमी हावापानी

(क) अवस्थिति

पृथ्वीको दुवै गोलार्धमा ५° देखि ३०° अक्षांशमा महाद्वीपको दक्षिण पूर्वी भागमा यस प्रकारको हावापानी पाइन्छ। दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, उत्तरी अस्ट्रेलिया, दक्षिणपूर्वी अफ्रिका, मदागास्कर, दक्षिण पश्चिम अफ्रिका, दक्षिण पूर्वी ब्राजिल, क्यारिबियन क्षेत्रमा समेत यो हावापानी पाइन्छ। यो हावापानी पाइने मुख्य क्षेत्र दक्षिण एसिया हो।

(ख) हावापानीको अवस्था

ग्रीष्ममा गर्मी र औसत तापक्रम ३०°C हुन्छ। हिउँद ठन्डा र औसत तापक्रम १५°C हुन्छ। स्थानअनुसार ५ देखि २० से.मि.सम्म वार्षिक मनसुनी वर्षा हुन्छ।

(ग) वनस्पति र वन्यजन्तु

ग्रीष्म ओसिलो र हिउँद ठन्डा हुनाले पतफर वनस्पति पाइन्छ भने पर्याप्त वर्षा र वर्षभरि गर्मी हुने ठाउँमा सदावहार वन पाइन्छ। उचाइ र वनस्पतिको प्रकृतिअनुरूप विभिन्न प्रजातिका वन्यजन्तु प्रशस्त पाइन्छन्। यहाँ हात्ती, गैडा, बाघ, भालु, चितुवा आदि जनावर र पानी हाँस, मयुर आदि चराचुरुङ्गी पाइन्छन्।

(घ) जनजीवन र आर्थिक क्रियाकलाप

यो क्षेत्र कृषि, उद्योग र व्यापारलगायत सबै कार्यका लागि अनुकूल छ। यस क्षेत्रको मुख्य बाली धान हो। उखु, जुट, सुर्ती, चिया जस्ता नगदेवाली यहाँ प्रशस्त हुन्छन्। हावापानी, माटो र वर्षाले गर्दा अधिकांश मुलुक कृषिमा निर्भर छन्। मानव सभ्यता र संस्कृतिका लागि यो क्षेत्र सम्पन्न मानिन्छ। यहाँको जनघनत्व उच्च छ।

चार उपप्रदेशको तुलनात्मक तालिका

हावापानीअक्षांशीय दायराऔसत तापक्रमवार्षिक वर्षा
भूमध्यरेखीय हावापानी०°–५° (दुवै तर्फ)२७°C (तापान्तर २°C)२०० से.मि.सम्म
उष्ण तृणभूमिको हावापानी५°–२०° (दुवै तर्फ)ग्रीष्म ३२°C+, हिउँद २१°C भन्दा कम५०–१५० से.मि.
उष्ण मरुस्थलीय हावापानी२०°–३०° (महाद्वीपको पश्चिमी भाग)दिन ४०°C+, रात १०°C भन्दा कमऔसत १२ से.मि.
उष्ण मौसमी हावापानी५°–३०° (महाद्वीपको दक्षिण पूर्वी भाग)ग्रीष्म ३०°C, हिउँद १५°C५–२० से.मि. (मनसुनी)

महत्वपूर्ण शब्द तथा अर्थ

शब्दअर्थ
सेल्भास जङ्गलअमेजन बेसीमा पाइने घना उष्णकटिबन्धीय वर्षावन
सभानाउष्ण तृणभूमिको घाँसे मैदान, मध्य र पूर्वी अफ्रिकामा प्रयुक्त नाम
लानोसभेनेजुयला र कोलम्बियाको सभाना घाँसे भूमिलाई दिइने नाम
क्याम्पोसब्राजिलको सभाना घाँसे भूमिलाई दिइने नाम
मरुद्यानमरुभूमिभित्र पानी पाइने र वनस्पति उम्रने उर्वर ठाउँ
सम्वाहनिक वर्षाभूमध्यरेखीय क्षेत्रमा दैनिक मध्याह्नपछि हुने वर्षा

SEE परीक्षा टिप्स

  • चार उपप्रदेशको अक्षांशीय दायरा नमिसाई (०–५°, ५–२०°, २०–३०°, ५–३०° दक्षिण पूर्वी भाग) सम्झेर लेख्ने।
  • तापक्रम र वर्षाका अङ्क सही राख्ने — विशेष गरी भूमध्यरेखीय (२७°C) र मरुस्थलीय (दिन ४०°C+, रात १०°C भन्दा कम) नमिसाउने।
  • 'फरक छुट्याउनुहोस्' भन्ने प्रश्नमा दुवैको अवस्थिति, तापक्रम, वर्षा र वनस्पति तुलना गरी लेख्ने।
  • उदाहरण दिँदा पाठ्यपुस्तकमा उल्लिखित नाम (अमेजन, कङ्गो, सहारा, सुडान, दक्षिण एसिया आदि) प्रयोग गर्ने।
  • जनजीवन र आर्थिक क्रियाकलाप सोधिँदा प्रत्येक उपप्रदेशको फरक-फरक विशेषता (फिरन्ते जीवन, मरुद्यान, कृषिप्रधान) उल्लेख गर्ने।

छिटो पुनरावृत्ति

  • भूमध्यरेखीय हावापानी — ०–५° — तापक्रम २७°C — दिन-रात बराबर, ऋतु परिवर्तन नहुने।
  • उष्ण तृणभूमि (सभाना) — ५–२०° — दुई ऋतु (ग्रीष्म, हिउँद) — संसारको चिडियाखाना भनिने।
  • उष्ण मरुस्थलीय — २०–३०° — दिन-रातको तापक्रम फरक धेरै — मरुद्यान।
  • उष्ण मौसमी — ५–३०° दक्षिण पूर्वी भाग — मुख्य क्षेत्र दक्षिण एसिया — मुख्य बाली धान।
  • अमेजन/कङ्गो — सेल्भास जङ्गल, रेड इन्डियन पिग्मिज।
  • सभाना — लानोस (भेनेजुयला/कोलम्बिया), क्याम्पोस (ब्राजिल)।
  • मरुस्थल — सहारा, कालाहारी, नामिब, अरेबियन, थार — उँट प्रमुख यातायात।